के बताउँ तिमीलाई ?


-प्रेम ओली

ईमेलमा सोध्ने साथी
के बताउँ तिमीलाई
मेरो के हाल छ
देशको के ताल छ
कहाँबाट शुरु गरुँ ?
देशको के हाल छ
देशबासीको बेहाल छ
तर के गर्ने साथी यहाँ
देश चलाउने मालामाल छ
यहि त झन् कमाल छ !

राजधानी भनि के गर्नु
तिम्रै घरको अगाडि
फोहर फाल्ने आहाल छ
के बताउ साथी तिमीलाई
हामीले पढेको कलेज छेउ
नाङ्गो नाची बबाल छ
देश चलाउनेलाई थाहा छैन रे
यहि त झन् कमाल छ ।

नेताको खडेरी परेको बेला
सभासद फालाफाल छ
जनताको हातमा सुको छैन
मन्त्रीको कमाई धमाल छ
बुझ्न नसक्ने गाँठी कुरो
यहि त झन् कमाल छ ।

बन्द हट्ताल जुलुस नारा
सधैं यहाँ बबाल छ
कहिले यो अन्त्य हुने
सबैको यस्तै सवाल छ
कसले लिने चासो
हरेकको आफ्नै ताल छ
आफ्नो मात्र दुनो सोझो
यहि त झन् कमाल छ !