बाध्यता




-रविन जिरेल

हिउँदकालिन चिसो समय
जिजिबिषा लिएर
बिहानिको मिर्मिरे देखि पेट पाल्नका लागि
एक अँध्यारो ठाउँ
ढिकी कुटेको मधुर आवाज
बिहानी छायो, काम निरन्तर
घामको झुल्का
त्यो ठाउँमा पनि मधुर प्रकाश फिँजियो ।

म एक्लो दर्शक
दृश्य नबिराई हेरिरहेछु
चिया आउँछ पिउँछु
रेडियोमा भावुक संगीत गुंजन
म क्रमश: हेरिरहेछु
दया लाग्छ कारुणिक दृश्यलाई देखेर
सहयोग गर्न सक्थें
तर अपरिचित महिला
समाजिक डर
नैतिकता कुल्चिन्छ कि भन्ने त्रास ।

थकित मुद्रामा हुन्छिन्
बिश्राम चाहन्छिन्
टोलाएर बस्छिन्
अनायसै
म भए तिर पुलुक्क हेर्छिन्
नजर जुध्छ
अपरिचित भएर होला
शर्माउँछिन्
लाजको घुम्टोले छेक्छ
र शीर निहुराउँछिन्

मेरो दिमागमा
गरिबिलाई धिक्कार्ने शब्द आउँछ
धिक्कार्छु, बिलासितालाई सम्झन्छु
एकता खोज्छु कतै पाउँदिन
निराश भएर आफ्नै कर्मतिर लाग्छु ।

-जिरी