गजल



-केशब शर्मा


काँध माथि चढि जंघार, तर्छन् किन मान्छे यहाँ
रात पर्दा उसकै चीर, हर्छन् किन मान्छे यहाँ |


सबैलाई आफ्नै ठानी जब सर्छु नजिकै म
नचिने झै गरी पर, सर्छन् किन मान्छे यहाँ |


आफ्नो भन्नु आफ्नै मन हो, पराईको आफ्नो हुन्न
त्यसकै लागी हत्ते गरी, मर्छन् किन मान्छे यहाँ |


स्वाभिमानको दुहाई दिदैं जसलाई सधैँ सराप्दछन
फेरि उस्कै पाउमा शिर, धर्छन् किन मान्छे यहाँ |


कसम खान्छन देशको र जनताको भलो गर्ने
मौका पाउंदा आफ्नै पेट, भर्छन् किन मान्छे यहाँ |


यस्तो लाग्छ समबेदना बिबेक सबै गुमाई सक्यौं
जीवन्त छन् अझैं जस्तो, गर्छन् किन मान्छे यहाँ |



ब्रिसबेन, अस्ट्रेलिया