लाहुरे फूल ! म तिम्रो नाम फेर्न चाहन्छु



-तीर्थ श्रेष्ठ



बासनारहित तर प्लाष्टिक होइनौ
तिमी लाहुरे फूल !
म यतिखेर युद्धमा क्षत–विक्षत मेरा पति संझिरहेकी छु
काँचो धागोले बेरिएको चिठ्ठी
लास गन्हाउने पेन्सन
त्यही पेन्सनको आडमा बाँचेको जिन्दगी
जेनतेन सोचिरहेकी छु
मेरो पतिको जिन्दगी भरिको कमाइ
म विधवाको टाउको लुकाउने थलो
र त्यसकै ढोकाअघि निर्लज्ज फक्रिरहेको
तिमी लाहुरे फूल !
भो भैगो कति नुनचुक छर्छौ – यो घाउमा
धेरै भयो जिन्दगी नै घाउ भएको
धेरै भयो जिन्दगी नै पीडा भएको
एकछिन सुस्ताउन देऊ लाहुरे फूल !
म घाउको पत्र पल्टाएर
सन्धिको इतिहास फेर्न चाहन्छु
म घाउ थमथम्याएर
रगतको ब्यापार बन्द गर्न चाहन्छु
म इतिहासको यो कालो पानालाई च्यातेर फाल्न चाहन्छु
पर्ख ! लाहुरे फूल,
म तिम्रो नाम फेर्न चाहान्छु ।


तीर्थ दाइ ! लाहुरे फूलको नाम फेरिएन !



- निष्प्रभ सजी

मध्यरातमा
बिखण्डित सपनाहरु
च्याप्न नसकेर
लाहुरे फूलको नाम
फेर्न खोजे सुन्तलीहरुले
टुक्रा टुक्रा सपनाहरु
आर्यघाटमा बिसाउनु पूर्व
लाहुरे फूलको नाम
फेर्न खोजे आमाहरुले
जिन्दगीका कुण्ठित सपनाहरुलाई
चितामा मिसाउनु पूर्व
लाहुरे फूलको नाम
फेर्न खोजे बाबाहरुले

काँचो धागोले बेरिएर आएका
चिट्ठीहरुले
शायद जोड्न सकेनन् सपनाहरु
बोक्न सकेनन् तृष्णाहरु
त्यसैले होला तीर्थ दाइ !
लाहुरे फूलको नाम फेरिएन !
खालि सिउँदोलाई किन लोभ्याउँछन्
निर्दयी लाहुरे फूलहरु
खालि चुल्ठोलाई किन सजाउँछन्
निर्दयी लाहुरे फूलहरु
समानुपातिक कुण्ठाहरुको
पर्खाल अग्लो बनाउँछन्
निर्दयी लाहुरे फूलहरु
बसाइँ सरे सुन्तलीका तृष्णाहरु
अस्ताइसक्यो बा आमाले ताप्ने घाम
र पनि एक्लो आँगनमा
निर्लज्ज सपना फुलाइरहन्छ लाहुरे फूल !
त्यसैले होला तीर्थ दाइ !
समय बदलिरह्यो
लाहुरे फूलको नाम फेरिएन !
(साभार : इजलासमा लाहुरे फूल)