मन मा हुन्छ देश



- महेन्द्र पौडेल

बाटो शायद् बन्द ठानी, साथी भन्छन् आज
माटो छाडी विदेशिने देश् को हुन्छ लाज
मन भरी विदेश कै सपना जो बोकी
दिनभरि डुल्छ्न उनै घुम्ती बाटो खोजी

उल्टो खेलिंदैछ किन ? राजनीति चेस
पैताला मा हुने हैन, मन् मा हुन्छ देश

वहीं वसी उनी गर्छन् विदेशीको सिको
अपमान आफ्नै पन, कला संस्कृतिको
भत्काएर फालिसके देश का धरोहर
ठुलै क्रान्ति गरें भन्छन् जलाएर घर

टाढा म छु तर उन्ले बिर्से भाषा भेष
पैताला मा हुने हैन, मन् मा हुन्छ देश

सगर्माथा मेरो ताज, स्वयम्भू हुन् आँखा
वृत्त चित्र सरी नाच्छन् मन् मा डाँडा पाखा
पृथ्वी नारन्, अमरसिंह, लक्ष्मी, भानु, मोति
सम्झी सम्झी ढक्क फ़ुल्छ गौरव ले छाति

स्वाभिमानी गौरव्-गाथा गाम्दै फुल्यो केश
पैताला मा हुने हैन, मन् मा हुन्छ देश

दशैँ आए बुबा आमा, जस्तै मान्यजन
तीज तिहार् आए दिदी खोजी पुज्छ मन
हजार छन् चल्ती एहाँ रम्न भुल्न लाई
किन्तु रम्छु असारे र सालैजु म गाई

जति होउन चाड चलन् आफ्नै लाग्छ वेश
पैताला मा हुने हैन, मन् मा हुन्छ देश

अन्न बाला झुले मेरै, मधेश् बन्छ फाँट
मीठा स्याउ आए मेरै, मुस्ताङ् मार्फा बाट
लाग्छ कतै डुंगा चढ़े, नाच्यो फेवा ताल
पानी बीच थुम्को देखे, वाराही को ख्याल

जहाँ पुग्छु वहीं बुन्छु आफ्नै परिवेश
पैताला मा हुने हैन, मन् मा हुन्छ देश

कोही चढ़ पहाड् कोही झर मधेश् तिर
चाहे बस अल्ली वरै चाहे पुग पर
जहाँ पुग घाम-पानी, धरती छन् उनै
सिङ्गो उही आकाश छ फरक छैन कुनै

फाली हेर आफै भित्र कालो मैलो के छ
पैताला मा हुने हैन, मन् मा हुन्छ देश

(सिड्नी, अस्ट्रेलिया)