
-रामचन्द्र अधिकारी
देखे पनि नदेखेझैं फर्किएर गयौ
मेरै समीपबाट तिमी तर्किएर गयौ
मेरै बारे बोल्न सुन्न चासो देखाउनेले
कस्ले फुक्यो कान आज झर्किएर गयौ
बल्ल बल्ल हुर्किएको गुलावको बोटबाट
फूल लियौ काँडा ममा छर्किएर गयौ
ठानेको थेँ मायाको घर उठ्ने भयो
अनायसै जगैबाट घर्किएर गयौ
देखे पनि नदेखेझैं फर्किएर गयौ
मेरै समीपबाट तिमी तर्किएर गयौ