विचरा बुद्दिमान ! विचरा बुद्दिमानहरु


-सुमन घिमिरे

६२/६३ को आन्दोलनमा पनि
बुद्दिमान काठमाण्डौ आएको थियो
उ आफ्नो नेताको लागि
दिन भर सडकमा बस्यो,करायो
एक दिन , दुई दिन भन्दै
१९ दिन बितायो .

अन्तमा
नेता को जित भयो
उसको जित भएन
घर फर्किदा
खेत बाझै थियो
त्यो साल उसलाई
धौ धौ परेको थियो
एस पालि पनि
बुद्दिमान काठमाण्डौ आ'को छ
सत्ता कब्जा गर्न रे,
चर्को घाममा उ
नेताको भाषण सुन्दै छ
"हाम्रो माग पुरा नभए सम्म
एही सडकमा बस्छौ,खान्छौ र सुत्छौ "
विचरा बुद्दिमान मख्ख थियो
ताली पिट्दै थियो .
उता उसको घरमा
परार जस्तै खेत बाझो हुदै थियो
भर्खर पानि परेको छ
मकै छर्न पर्ला
उसले आज दाल मोठ चिउरा खाए पनि
सालै भरि च्याखला खानु छ .
अझ कति अबुझ् र सोझा छन .
विचरा बुद्दिमान
विचरा बुद्दिमानहरु