गीत


-विश्व गुरुङ

के हाल भयो के हाल भयो आज यहाँ के हाल भयो ।
सानो सुन्दर घर मेरो चर्किएर बेहाल भयो ।।

कुन्नि कसको आँखा लाग्यो कुन्नि कसको श्राप पर्‍यो ।
हराभरा बगैंचा यो मरुभूमी बन्दै गयो ।।
बिगार्ने र भत्काउने नै आज मालामाल भयो ।
सानो सुन्दर घर मेरो चर्किएर बेहाल भयो ।।

जसले पनि जित्ने भन्छन् जसले पनि लुट्ने भन्छन् ।
आफ्नै दाजुभाइ मारि जो नि माथि पुग्ने भन्छन् ।।
मन्दिर जस्तो ठाउँ आज जुवाडेको खाल भयो ।
सानो सुन्दर घर मेरो चर्किएर बेहाल भयो ।।

कति अल्झुँ जालै-जालमा कति हाँसु आशै-आशमा ।
आफ्नै घरभित्र सधैं कति बाँचु त्रासै-त्रासमा ।।
यो मन दुख्न थालेको नि आज धेरै साल भयो ।
सानो सुन्दर घर मेरो चर्किएर बेहाल भयो ।।