दुर्घटित मनको कथा


-बिक्रम तिमिल्सिना

तिमी साथ नहुँदा,
नियास्रोको कर्द
मुटुबीच बर्सिंदा,
यता मेरो आँखामा पहिरो गयो,
मन दुर्घटित भयो ...

दुखेको हो,
तर अविश्वास दुखेको होइन,
विश्वासभित्र पनि
अलिकति दुख्ने ठाउँ हुँदो रहेछ...
त्यहि दुखेको हो,
त्यहीं दुखेको हो,
अहम् अलिकति झुकेको हो ...

तिमी उहीं छौ, म त्यहीं छु ...
आधारमा आगो लागेको होइन,
अनौठो रहर जागेको होइन ...
परेलीमा मूल फूटेर सिरानी भिजेको हो,
सन्सार भिजेको होइन...
मष्तिस्कको हल्का ज्वरोले
मन जलेको हो,
मुटु बलेको होइन ...
यादको भूमरीमा
निद्रा गलेको हो,
रात ढलेको होइन ...

हो साथी,
तिमी साथ नहुँदा
नियास्रोको कर्द
मुटुबीच बर्सिंदा,
यता मेरो आँखामा पहिरो गयो,
मन दुर्घटित भयो ...